प्रचण्ड आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित

प्रचण्ड आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ। प्रचण्ड आइतबार पोखरा आउन लागेका हुन्। उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो। ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ। उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ। यसबाहेक २ वटा विधेयक संसदमा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ।

सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू आउने माओवादी गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले बताइन्। उनी माओवादीबाट गण्डकी प्रदेशसभामा प्रमुख सचेतकसमेत हुन्। गण्डकीमा कांग्रेसको नेतृत्वमा माओवादीसहित दलहरू सरकारमा छन्।

Skip This
Skip This
Logo