नेपाली कांंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गदै पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ ।
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन माग गरे ।
पूर्व केन्द्रिय सदस्य खनालले भने ‘भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक छ । आजको बलियो नेविसंघ बनाउन उक्त समयमा विभिन्न संघर्ष र समय लगानी गरेका हजारौँ नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न आवश्यक छ । एउटा ऐतिहासिक पार्टी, लोकतान्त्रिक पार्टी, गौरवशाली पार्टी र समावेशी पार्टीभित्र सिन्डिकेट लगाएर पाखा लगाउन खोज्नु न्यायको सिद्धान्त विपरित् छ । घरको पिल्लरहरु भाँचेर बलियो घरको निर्माण गर्छु भन्नु दिवा सपना मात्रै हो । नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता हो । नेविसंघको विधानको पूर्ण कार्यान्वयन गरियोस् । सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गरियोस् । आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गरियोस् । अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गरियोस् । नेविसंघको विधानसम्मत १२ औँ महाधिवेश सुनिश्चित गरियोस् ।’
त्यस्तै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाए । उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृसंगठनले स्वीकार्ने विश्वास लिएको पनि बताए ।
नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न तथा निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न समेत माग गरेको छ ।































प्रतिक्रिया