कांग्रेसले चुनावी तालमेलको जिम्मा पालिकालार्ई दियो

कांग्रेसले चुनावी तालमेलको जिम्मा पालिकालार्ई दियो

केन्द्रबिन्दु
0
Shares

महोत्तरीका राजनीतिक दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा अझै अन्योलमा छन् । गठबन्धन गर्ने वा निर्वाचनमा एक्लै एक्लै जाने भनेर केन्द्रबाट कुनै निर्णय नआउँदा दलका नेताकार्यकर्ताहरू समेत प्रष्ट रुपमा खुल्न सकेका छैनन् । 

माओवादी केन्द्र र नेकपा समाजवादीले निर्वाचनमा जाँदा गठबन्धन गरेर जानुपर्ने जोड दिएका छन् । तर, कांग्रेसले भने चुनावी गठबन्धनको बिषयमा सम्बन्धित पालिकाहरूले निर्णय गर्नसक्ने अधिकार प्रदान गरिसकेको छ । ‘पार्टीले अधिकार दिए पनि कसरी जाने भन्ने बिषयमा अझै खाका बनाउन सकिएको छैन ।’ जिल्ला सभापति नागेश्वर यादवले भने ।

अघिल्लो निर्वाचनमा महोत्तरीमा मधेशवादी दलहरू बलिया देखिएका थिए । जिल्लाका १५ पालिकामध्ये नौ वटामा मधेशवादी दलहरूले बर्चश्व कायम गरेका थिए ।तर, पछिल्लो राजनैतिक घटनाक्रमले जिल्लामा बलियो सांगठनिक संरचना रहेका मधेशवादी दलहरू नै छिन्नभिन्न हुनुले पनि कुनै पार्टीलार्ई पनि एक्लै चुनाव लड्न सक्ने अवस्था देखिएको छैन । 

नेकपा समाजवादी र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहे पनि नेकपा एमाले, नेपाली कांग्रेस र मधेशवादी दलहरू भने आन्तरिक गृहकार्यमा व्यस्त छन् ।
निर्वाचन लक्षित कार्यक्रममा अगाडि बढ्न केन्द्रबाट सबै दलहरूलाई निर्देशन आएको छ तर दलहरू चुनावी गठबन्धनको अन्योलमा नै अल्झिरहनुले भने जसरी चुनावी कार्यक्रम बनाउन नसकिएको जिल्लास्थित नेताहरू बताउँछन् ।

जसपा र लोसपासँगको गठबन्धनको तयारीमा एमाले 
नेकपा एमालेले जसपा र लोसपासँग चुनावी गठबन्धन गर्ने संकेत गरेको छ । हरेक ठाउँमा एक्लै लड्न सकिने एमालेले घोषणा गरे पनि एमाले टुक्रिएर बनको नेकपा एसको प्रभावले मधेश प्रदेशमा नेकपा एमाले कमजोर नै छ । ‘नेकपा एमालेले टिकटको आशा देखाएर जसपा, लोसपाबाट नेता कार्यकर्ता तानिरहेको देखिन्छ । तर, त्यसले राम्रो परिणाम भने दिँदैन ।’ नेकपा एस महोत्तरीका सचिव सोमबहादुर कार्कीले भने ।

यता, माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ । सत्ता गठबन्धनमा समिकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्रको चुनावी तालमेल रहने बताउँदै पनि आएको छ ।

‘हामी  गठबन्धन नै नभए पनि लड्न त सक्छांै तर तालमेलबाट अझ फाइदा पुग्ने हँुदा गठबन्धनको आवश्यकता महसुस गरेका छाँै ।’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न सक्ने संकेत गरेतापनि जिल्ला अध्यक्ष रामबाबु साह भने अश्वीकार गर्छन ।  जिल्लाभरी नै लोसपाको संगठनिक संरचना बलियो भएको हुँदा गठबन्धन गर्न जरूरत नभएको उनले जिकिर गरे । उनले भने, ‘जिल्लाका केही कमजोर  पालिकाहरूमा भने गठबन्धनको अवस्था आए तालमेल गरौला नत्र पर्दैन ।’ उनले भने ।

जसपाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको पनि लोसपा कै अध्यक्ष रामबाबु साहको जस्तो दावी छ । निर्वाचित जनप्रतिनिधि लोसपामा भएतापनि आफूहरूको संगठनिक संरचना बलियो रहेको अध्यक्ष यादवको भनाइ छ ।

गठबन्धनको सम्बन्धमा भने ११ चैतमा जिल्ला कार्यसमितिको बैठक बसेर टुंग्याउने अध्यक्ष यादवले जानकारी दिए । ‘विचार मिल्ने पार्टीसँग आफूहरू चुनावी तालमेल गर्ने अवस्थामा छौँ ।’ अध्यक्ष यादवले भने ।
 
 

Skip This
Skip This
Logo