सिन्धुपाल्चोक।
बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए।
उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरोमा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरोमा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटा आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाए। “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भने।
गए राति गएको पहिरोले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीय विमला पौडेल घाइते भएकी छिन् । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिरोले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।
आ–आफ्नो ठाउँबाट लागौं : मन्त्री दुलाल
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताएका । उनले जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ नागपुजेमा आएको पहिरोबाट भएको क्षतिले आफू अत्यन्त दुःखित भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।रासस































प्रतिक्रिया