यसपालिको दशैंमा पुरानै सामानको भर, कोरोनाले नयाँ सामान आउन सकेनन्

यसपालिको दशैंमा पुरानै सामानको भर, कोरोनाले नयाँ सामान आउन सकेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालीहरुको महान् चार्ड दशैं नजिकिँदै गर्दा दशैंलाई लक्षित गरी किनमेल हुने बजारमा कुनै रौनक देखिएको छैन । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि मुलुकभरीका बजारहरु बन्द अवस्थामा छन् भने विभिन्न मुलुकहरुसँगको नाकामा सील गरिएकाले सामान आउन सकेको छैन । नेपाली बजारको अधिकांश हिस्सा चिनियाँ सामानले धानेको छ । नेपाली बजारको अधिकांश हिस्सा ओगटेका चिनियाँ सामानका कन्टेनरहरु केरुङ नाकामा रोकिएका छन् । जसले गर्दा दशैंका लागि आउने नयाँ सामानहरु कयौँ महिनादेखि नाकामा थन्किएकाले ब्यवसायी कसैले पनि नयाँ सामान हाल्न नसकेको नेपाल राष्ट्रिय महासंघका अध्यक्ष नरेश कट्वालले बताए ।

एकातिर नयाँ सामान आउन नसकेको तथा अर्कातिर नियमित रुपमा बजार खुल्न नसकेकाले यसपालीको दशैंमा व्यवसायीले धेरै नै घाटा खाने उनले बताए । दशैंमा कारोबार हुने आशले ऋण लिएरै भएपनि व्यवसायीहरुले सामान हाल्ने गर्थे । तर यसपाली भने व्यवसायीहरु के गर्ने भनेर चिन्तामा रहेको अध्यक्ष कट्वालले बताए । ‘अहिले सबै व्यवसायीहरु ठूलो चिन्तामा छन् , डिप्रेशनमा छन् ।’ उनले भने ।

हरेक वर्षको दशैंँमा वर्षभरी हुने ब्यापारको ठूलो हिस्सा बराबरको कारोबार हुने गरेको थियो । हरेक वर्षको दशैंमा चीनबाट लुगाफाटा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स सामान, फलफूल तथा ड्राइ फ्रुट लगायतका सामानहरु आयात हुने गर्छन् । माहाबौद्ध, रन्जना गल्ली लगायतका होलसेल बजारमा अहिले नयाँ सामान आउन सकिरहेका छैनन् । जसले गर्दा होलसेल लगायतका विभिन्न व्यवसायका सटर तथा पसलहरु खाली अवस्थामा छन् ।

गत वर्ष ल्याएका केही सामानहरुको स्टक छ व्यवसायीसँग । नाका खुलेका भारतीय सीमाबाट केही मात्रामा आएका सामानले यसपालीको दशैंलाई धान्नुपर्ने अवस्था रहेको अध्यक्ष कट्वालले बताए । तातोपानी तथा केरुङ लगायतका नाका नखुल्दा सामान बोकेका कन्टेनर छिट्टै आउने अवस्था छैन । त्यसकारण यसपाली केही मात्रामा भारतीय सामान र गत वर्षको स्टक सामानले यसपालीको दशैं मनाउनु पर्नेछ । ‘१० महिनादेखि नाकामा सामान रोकिएका छन् , अनि कसरी हुन्छ कारोबार ?’ अध्यक्ष कट्वालले भने । चिनियाँ पक्षले नाकामा सामान रोकिरहेको छ तर सरकारले रोकिएका सामान झिकाउन चासो नदिएको उनको आरोप छ ।

कोरोनाका कारण लामो समय बजार बन्द हुँदा साना खालका धेरै व्यवसायहरु बन्द भएका छन् । अब पनि व्यापार व्यवसाय नहुने हो भने अझै पनि कयौँ व्यवसायीहरु पलायन हुने खतरा रहेको व्यवसायीको भनाइ छ । नयाँ सामान नआउँदा बजारमा सामानको मूल्य बढ्ने आशंका भए पनि त्यस्तो नहुने व्यवसायीको भनाइ छ । पुरानै मूल्यमा सामानहरु प्राप्त गर्न सकिने कट्वालले बताए ।

धेरै व्यवसायीले तयारी पोसाक र जुत्ता–चप्पल उत्पादनका लागि कच्चा पदार्थ चीनबाटै ल्याउने गर्छन् । महासंघले पटक पटक विज्ञप्तिमार्फत केरुङको सामान चाडै झिकाउने व्यवस्था मिलाइदिन माग गर्दै आएको छ । तर सरकारले कुनै सुनुवाई नभएको कट्वालले बताए ।

Skip This
Skip This
Logo