काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने भएका छन् ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा मालबस्तु रोकिएको भन्दै आइतबार ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएको व्यवसायीहरुले बताएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिनादेखि केरुङ नाकामा मालवस्तुसहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसलाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष कटुवालले बताए । आफूहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कुटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल सुरु गरेको कुटुवालको भनाई छ ।
यसबाहेक कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत सभापति देउवा समक्ष व्यवसायीहरुले माग गरेका छन् । कोभिड पछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिएको अध्यक्ष कटुवालले बताए ।
यस्तै कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरेको छ । व्यवसाय नै ठप्प भएको अवस्थामा सरकारले आफूहरुलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिन पनि माग गरिएको उनले बताए ।































प्रतिक्रिया