शब्दयात्रा प्रकाशन काभ्रेद्वारा विभिन्न क्षेत्रका सर्जकहरु सम्मानित

शब्दयात्रा प्रकाशन काभ्रेद्वारा विभिन्न क्षेत्रका सर्जकहरु सम्मानित

केन्द्रबिन्दु
0
Shares

शब्दयात्रा प्रकाशन काभ्रेले एक समारोहका बीच विभिन्न सर्जकहरुलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शब्दयात्रा प्रकाशनले सम्मानित सर्जकहरुलाई महत्वपूर्ण आयाम र प्रेरणा मिलेको महसुस गर्दै न्यायोचित सम्मान भयो भने लेखक र विभिन्न विधामा सम्मानित हुने व्यक्तित्वहरुको आत्माले सन्तुष्टि पाउने उल्लेख गरे ।

उनले अहिले राज्यको हर क्षेत्रमा अनुशासन हराउँदै गएको महसुस गर्दै मानिसहरुमा अहमता भाव पैदा भएकोले समाज नकारात्मक दिशातिर धकेलिँदै गएको महसुस भएको बताए । प्रमुख अतिथि रेग्मीले अविकसित मानसिकता र खराब प्रवृत्तिलाई हटाउने अभियानमा समाजका प्रबुद्ध व्यक्तिहरु लाग्नुपर्ने बेला आएको बताउँदै न्याय अदालतमा अहिले मुद्धा थुप्रिनाले कयौं व्यक्तिहरुले दुःख पाउनु परेको गुनासो व्यक्त गरे । उनले प्रधानन्यायाधीशलाई निलम्बन गर्नुपर्ने, महाअभियोग दर्ता हुनु दुःखदायी भएको बताए । 'नागरिकले जिम्मेवारीपूर्वक आफ्नो काम, कर्तव्य, अधिकार कस्तो हो, त्यसमा रहेर आफ्ना जिम्मेवारी निभाएमा अनुशासित राष्ट्रतिर लम्कन समय लाग्दैन' उनले भने ।

कार्यक्रममा उद्ववप्रसाद नेपालद्वारा लिखित पुस्तक आध्यात्मिक ज्ञानभण्डारको सार्वजनिकीकरण गर्दै नन्दीकेशर शोध सम्मानद्वारा सम्मानित काभ्रे नालाका निर्मला श्रेष्ठ, अंगुरबाबा जोशी शिक्षक सम्मानद्वारा प्राध्यापक डा.नन्दीश अधिकारी, काशीनाथ मायादेवी राष्ट्र झंकार सम्मानबाट तिलकप्रसाद लुईंटेल, गोपाल प्रधान स्तम्भकार सम्मानद्वारा सरोजचन्द्र बस्ती, रामकृष्ण श्रेष्ठ विज्ञान प्रविधि सम्मानद्वारा प्रा.डा.रमेशकुमार मास्के, होमतोत्र शिक्षा सम्मानद्वारा सम्मानित डा. टंकनाथ शर्मा, हंशराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट प्रा.डा. जगदीश वैद्य ललितपुर, प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा गिता केशरी काठमाडौं, भीमभक्तमान सिं बस्न्यात सिर्जना सम्मानबाट भरत जंगम लगायतका सर्जकहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य एवं सञ्चालक तथा कार्यक्रमका सभापति हरिगोपाल प्रधानलाई पृथ्वीबाट ३६ हजार फिटमाथि हवाईजहाजमा उडेर आकाशबाटै आफ्नो गीति एल्बम सार्वजनिक गराई विश्व रेकर्ड कायम गरेकाले प्रमुख अतिथि खिलराज रेग्मीबाट दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी सम्मानित व्यक्तित्व निर्मला श्रेष्ठले शब्दयात्राको भवन निर्माण गर्न २५ हजार, अक्षरसेवी सहयोग कोषको लागि दामोदर घिमिरेबाट २ हजार र भरत जंगमबाट ५ हजार एवं डा.जगदीश वैद्यले समाजसेवा सम्मान कोषका लागि १ लाख ५ हजार रकम सोही कार्यक्रममा संस्थाका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गरे ।

स्वागत मन्तव्य संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले गरेका थिए भने आध्यात्मिक पुस्तकका लेखक उद्ववप्रसाद नेपालले आफ्नो कृतिको बारेमा मन्तव्य राखेका थिए । सोही पुस्तकका बारेमा सञ्जीवनी नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले पुस्तकको समीक्षा गरे । कार्यक्रमको सभापतित्व सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले गरेका थिए भने कार्यक्रम सञ्चालन रश्मी मञ्जुश्रीले गरेकी थिइन् ।

कार्यक्रमको समापनमा प्रा.डा. कुलप्रसाद कोइरालाले मानव तिमी आफ्नो कर्तव्य पालना गर, फलको आशा नगर भन्ने खालको टिप्पणी गर्दै शब्दयात्रा सञ्चालन गर्नुहुने हरि मञ्जुश्रीको टिमलाई निरन्तर यात्रामा रहिरहन अनुरोध गरेका थिए।

(काभ्रेका वरिष्ठ पत्रकार प्रदिप केसीकाे सहयाेगमा)

Skip This
Skip This
Logo