रिपोटर्स क्लबको वार्षिकोत्सवमा जुरेको संयोग, शीर्ष नेताहरू एउटै मञ्चमा (भिडियाेसहित)

रिपोटर्स क्लबको वार्षिकोत्सवमा जुरेको संयोग, शीर्ष नेताहरू एउटै मञ्चमा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन्।

बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए। प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकाले आफू अफ्ठ्यारासँग नभाग्ने बताए। उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए।

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको  पनि बताए । उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका हुन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरु प्रष्ट रहेको बताए । 

अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताए । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए । उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए ।

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन् ।

बिहीवार काटमाडौंमा रिर्पोटर्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताएका हुन् । उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए । उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्।

बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । उनले नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनु पर्ने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम नगर्ने हो भने देश ठूलो दुर्घटनामा जानसक्ने बताए।

कार्यक्रममा नेकपा एमालेका नेता सुवास नेम्वाङले सबैका कमिकमजोरी हुने र त्यसलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताए । उनले अब सबै दलहरु मिलेर अघि बढे मात्र देश निर्माण हुन सक्ने पनि बताएका छन् । नेता नेम्वाङले हिजो जनतालाई हामीले दिएका बाचा पुरा भए भएनन् हिसाब किताब बुझाउनु पर्ने बेला आएको पनि बताए।

Logo