नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताएका छन्।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनले आउने स्थानीय तहको निर्वाचनसँगै प्रदेश र सङ्घको निर्वाचनमा सत्ताघटक दलभित्रै चुनावी गठबन्धन हुने स्पष्ट पारे।
उनले अहिले सत्ता गठबन्धन सबै निर्वाचनसम्म कायम रहने र गठबन्धन हुने ठाउँमा त्यही दलभित्र चुनावी तालमेल हुने बताउँदै गठबन्धन नहुने स्थानमा मित्रवत प्रतिस्पर्धा हुने उल्लेख गरे। मन्त्री कार्कीले देशलाई विकसित र जनतालाई समृद्ध बनाउने अभियानका साथ वर्तमान सरकारले काम गरिरहेको दाबी गरे।
हाम्रो देशलाई १० वर्षभित्रमा एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको मन्त्री कार्कीले बताए। उनले देशको विकास खोक्रो भाषणले नभई आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने भएकाले सोहीअनुसार अहिलेको सरकारले स्रोत व्यवस्थापन गर्नुका साथै विकास निर्माणको विभिन्न योजना लिएर अगाडि बढिरहेको दाबी गरे।
बराह क्षेत्रका जनतालाई मूल समस्याको रूपमा रहेको टेलिफोन, मोबाइलको टावर, विभिन्न सडक निर्माणको कार्य गर्नका लागि आफूले सक्दो बजेट व्यवस्थापन गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनकुमार विश्वकर्माले एमसिसी सम्झौता अनुदान सहयोग भएको जिकिर गरे। एमसीसीको विषयमा गलत प्रचार गरेर जनतालाई भ्रममा पार्नका लागि केही तत्व लागि परेको उनले बताए।





























प्रतिक्रिया