नेपाली चलचित्रमा बढ्दो मेकर्स-कलाकार विवाद

नेपाली चलचित्रमा बढ्दो मेकर्स-कलाकार विवाद

केन्द्रबिन्दु
0
Shares

फिल्म 'हेल्लो जिन्दगी' शुक्रबारबाट प्रदर्शनमा आयो अनि २४ घण्टाभित्र मल्टिप्लेक्सबाट उत्रियो पनि । सीमित हलमा भने प्रदर्शनमा छ। फिल्म निर्माता, निर्देशक र कलाकारबीचको विवाद चलचित्र पर्दामा देखिन थालेसँगै चलचित्र बजारमा पनि उत्तिकै छताछुल्ल भयो। अभिनेत्री द्वय दीपिका प्रसाईं र प्रियंका कार्की फिल्म प्रमोसन मात्र हैन प्रदर्शनमा आएपछि कुनै पनि कार्यक्रम र हलमा देखिएनन् । कारण बारे बुझ्दा एक च्यानलमा कार्कीले पुरै पारिश्रमिक नपाएको बताएकी छन् । निर्देशक एभरेस्ट सूर्य बोहराले भने दिनु पर्ने पारिश्रमिकको दोब्बर पारिश्रमिक दिएको दाबी गर्दैछन्। उनले निर्माताले दिनु पर्ने पारिश्रमिकमा पचास हजार थपेर दिएको र अर्को चलचित्रका लागि भनेर अझ बढी रकम दिएको बताए। 

नेपाली चलचित्रमा देखिएको यो एक मात्र विवाद भने पक्कै हैन। विशेष गरेर चलचित्र निर्माता र कलाकारबीच पारिश्रमिक, व्यक्तिगत असन्तुष्टिले पनि राम्रै चर्चा पाउँदै आएको छ। चलेका नायिका लिएर चलचित्र चलाउने निर्माताको प्रयास असफल देखिएको छ। त्यसैले  निर्देशक स्वयम् नै एक गीतमा मात्रै देखिएकी नायिकालाई लिएर प्रमोसनमा निस्किएका छन्। 

केही समयअघि निर्माता अर्जुन कुमारको चलचित्र 'चपली हाइट ३' प्रदर्शन भयो । भलै फिल्मले राम्रो व्यापार गर्न सकेन, विवादले लामै समय सञ्चार माध्यममा चर्चा पायो। कारणको रूपमा अर्जुनले अभिनेत्रीले प्रमोसनमा साथ नदिनुलाई लिएका थिए। उनी अभिनेत्री स्वस्तिमा खड्काले प्रमोसनमा साथ नदिएको भन्दै रुष्ट भए । तर स्वस्तिमा आफ्नो तरिकाले प्रचारमा सहभागी भइनै रहिन चुपचाप।  पछि सोही टिमका अन्य कलाकारले समेत पारिश्रमिक नपाएको आशयको पोस्ट गरे भने अन्य कलाकार कमेन्टमा आएर सोही विषयमाथि समर्थन जनाए। अर्जुनले अर्को फिल्ममा स्वस्तिमासँग काम नै नगर्ने समेत घोषणा गरे। त्यहाँ पनि एक निर्माताको सम्बन्ध कलाकारसँग बिग्रिएको देखियो । 

अभिनेता शिव श्रेष्ठले आफ्ना छोरा र अभिनेत्री करिश्मा मानन्धरले छोरीलाई डेब्यु गराउन फिल्म निर्माण गरेका थिए। सोही 'एउटा यस्तो प्रेम कहानी' चलचित्रसमेत विवादमुक्त हुन सकेन। छायांकन नै नसकी, कलाकारलाई पारिश्रमिक नदिएरै अन्य डबिङ आर्टिस्ट प्रयोग गरि फिल्म हलसम्म पुग्यो। फिल्मले हलमा पानीसमेत भन्न पाएन। करिश्मा र शिवको त सामाजिक सञ्जालमा लामै जुहारीसमेत चल्यो । वर्षा राउत लगायत कलाकारले पारिश्रमिक नपाएको बताए । यो चलचित्रसमेत मेकर र कलाकारबिचको पारिश्रमिक विवादबाट मुक्त हुन सकेन। 

यसरी हेर्दा मेकर्स र कलाकारको सम्बन्ध एकै फिल्मबाट नै बिग्रिन थालेको देखिन्छ। निर्माता कलाकारसँग असन्तुष्ट र कलाकारले पारिश्रमिककै लागि धाइरहनु पर्ने बाध्यता निरन्तर चलिरहेको देखिन्छ। यस प्रकारको विवादले आगामी दिनमा फिल्म निर्माणमा कलाकार छनौटमा निर्मातालाई समस्या हुने देखिन्छ भने कलाकारले काम पाउनसमेत समस्या हुन सक्ने देखिन्छ। हुन त भनाइ नै छ, ग्ल्यामर क्षेत्रमा स्थायी मित्रता र शत्रुता कसैको पनि हुँदैन।

Skip This
Skip This
Logo