बदलिँदो परिवेश र प्रतिस्पर्धामा रेडियो नेपाल खरो ढंगले उत्रनु पर्छ : ज्ञानेन्द्रबहादुर कार्की

बदलिँदो परिवेश र प्रतिस्पर्धामा रेडियो नेपाल खरो ढंगले उत्रनु पर्छ : ज्ञानेन्द्रबहादुर कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन् । 

मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत  गरे । 

रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार सिंहदरवारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुग्न जरुरी रहेको पनि बताए । 

सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो । उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे । 

मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारे । उनले भने,  ‘अझै पनि देशको सतप्रतिशत भूभागमा रेडियो नेपाल सुनाउन यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ । वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपाल समय सुहाउँदो नविनतम प्रविधिहरुको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ । र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्यालाई र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ । राष्ट्रिय प्रशारण संस्था, नेपाली माटोको आवाज हुनुको मूल मूल्य अझै माथि उठाउनु छ । बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरिरहेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको आन्तरिक जीवनलाई अझ बलियो बनाउनुछ ।’ 

मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाईमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आवद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।  

Skip This
Skip This
Logo