पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन जाँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला जान लागेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका २ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन जान लागेका हुन् ।
लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन दाहाल आफै लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर २ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।
चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ ।
स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ आफ्नो दाबी गर्दै आएका छन् ।नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताए ।
‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,ु उनले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’
भरतपुरमा देशकै नमुना काम भएको बताउने दाहाल मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ । माओवादी केन्द्रले मेयरमा पुनः दावी गर्नुको कारण पनि विकास नै रहेको छ । यद्यपी भरतपुरमा सडक कालोपत्रेबाहेक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदै आएको छ ।
निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलन्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि दाहालले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि दाहाल १० चैतमा पहिलो पटक चितवन पुगे। भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।
भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ । त्यसकै लागि पनि चितवनका कांग्रेसीले नमान्दा नमान्दै उनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गराए । कांग्रेसले फेरि पनि आफ्नी छोरीलाई मेयरमा जिताउन सहयोग गरोस् भन्ने उनी चाहन्छन् । दाहाल १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी २ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।
माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे । यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड आफ्नै छोरीको निवासमा बास बसे ।
भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए ।आफ्नी छोरीको प्रशंसा गर्दै उनले मेयरमा महानगर र महानगरबासी प्रति सँधै सकरात्मक सोच मात्रै भेटेको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।
सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्र्किएका दाहाल १६ चैत माा पुनः चितवन आए ।
उनले स्थानीयको विरोधबीच पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेशन निर्माण गरिएको भन्दै स्थानीयले भने विरोध गरिरहेका छन् । त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको दाहालले भरतपुर-२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।
त्यस्तै, उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर-घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।
कांग्रेस चितवन सभापति भन्छन्, चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक हुने प्रतिक्रिया दिएका छन् । ‘गठबन्धनका नेताको के धेरै विरोध गर्नु । उहाँ आफैले बुझ्नुपर्ने कुरा हो, उनी भन्छन्, ‘निर्वाचन आइसकेको छ । त्यस्तो नगर्दा राम्रो हुने थियो ।’
चितवन आउँदै गर्दा माओवादी केन्द्रको अध्यक्ष मात्र नभएर गठबन्धनका नेताका रुपमा आएको जसरी आफ्ना विचार र अभिव्यक्ति राख्न उनले दाहाललाई आग्रह गरे ।































प्रतिक्रिया