नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन्।
अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दाबी गरे । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए। एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए।
उनले भने, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आइरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन्। एकीकृत समाजवादी भन्न थालेका छन् । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून्।’
अध्यक्ष नेपालले बिना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनु पर्ने अवस्था अन्त्य हुने दावीसमेत गरे ।
अध्यक्ष नेपालले भने, ‘विना कामको भ्यूटावर बनाउने काममा अर्ब रुपैयाँ खर्च हुने गरेको छ । गेट बनाउने काममा करोेड रुपैयाँ खर्च भएको छ । भ्यू टावर र गेट बनाउने खर्च गरेको रकम युवाहरुलाई निब्र्याजी ऋण दिएको भए मानिसहरु गाँस र बासको समस्याले छटपटाउनु पर्ने अवस्था आउने थिएन । सरकारको एक पैसाको पनि राम्रो सदूपयोग हुनुपर्छ।’
अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराए।





























प्रतिक्रिया