काठमाडौं ।
कोरोना महामारीको सङक्रमण बढ्दै गएका कारणले अहिले आर्थिक, सामाजिक जनजीवन नै प्रभावित भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलो चार महिनाको लकडाउन र पछिल्लो तीन हप्ताको निषेधाज्ञाले प्रायः आर्थिक गतिविधि ठप्प रहेका छन् ।
अझ पछिल्लो समय कोरोनाको सङ्क्रमण बढीरहको अवस्थामा नेपालीहरुको महान् चाडपर्व दशैं नजिकिँदै गएको छ । दशैं नजिकिदै गएकाले कोरोना महामारीको बिचमा पनि दशैंलाई राम्रै बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको हो ।
खाद्य कम्पनीले कोरोनाको महामारीले आर्थिक तथा सामाजिक गतिविधि नै ठप्प भएको असहज परिस्थितीका बाबजुद पनि खसीबोका र च्याङ्ग्रा ल्याउने निर्णय गरेको छ । यसरी कम्पनीले खसीबोका ल्याउने भएकाले अब उपत्यकाबासीले दशैंमा खसीबोका र च्याङ्ग्राको लागि भौतारिनु नपर्ने भएको छ ।
खाद्य संस्थानले यसपालिको दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ । यसरी कम्पनीले ६ करोड रूपैयाँ बराबरका १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने गरी खसीबोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्राका लागि २ करोड ६१ लाख रुपैयाँ गरी ५ करोड ९९ लाख बराबरको रकम विनियोजन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
उनका अनुसार यो वर्ष दशैं ढिला भएकाले असोज दोस्रो साताबाट मात्रै तयारी गर्ने छौं । उनले भने, ’खाद्य कम्पनीमार्फत वर्षेनी दशैंका लागि खसीबोका ल्याउने गरेका छौं त्यही अनुसार यो महामारीका बीच पनि ल्याउने तयारी गरिएको छ ।’
कोरोनाको महामारीले देशको आर्थिक तथा सामाजिक जनजीवन शिथिल बनेको छ । यसले अधिकांश उद्योग, व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ । तर विशेष गरी दशैका लागि धेरै माग हुने खसीबोका र च्याङ्ग्राको माग नघट्ने अनुमान रहेको उनको भनाइ छ ।
गत वर्षमा खाद्य कम्पनीले दशैंका लागि करिब ५ करोड रुपैयाँको खसीबोका र च्याङग्रा ल्याएको थियो । तर अहिले करिव १ करोड बढी मूल्यका ल्याउने तयारी गरेको छ । त्यस्तै गत वर्ष लहान, नेपालगञ्ज र मकवानपुरबाट खसीबोका र च्याङग्रा ल्याउने गरेको थियो । तर अहिले टेण्डर नै नगरेको हुनाले कहाँबाट ल्याउने भन्ने एकिन नभएको विभागले जनाएको छ ।
वर्षेनी कम्पनीले सोझै किसानहरुबाटै खसीबोका खरिद गरेर ल्याउने गरेको छ । यसका लागि जिल्ला खाद्य तथा व्यवस्था समितिले मूल्य तय गर्छ । उक्त मूल्यमा खरिद गरिएका चौपाया काठमाडौंसम्म ढुवानी गर्न टेन्डर निकालेर ठेक्का दिने गरिन्छ ।





























प्रतिक्रिया