वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ साेमबार लगनटाेल पुर्याइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगनटाेल पुर्याउने गरिन्छ। रथ लगनटाेल पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ।
रथ लगन पुर्याए पनि साँझ परेकाले साेमबार सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए। लगनमा सेतो मच्छेन्द्रनाथको माताको मन्दिर छ।
रथयात्राको तेस्रो दिन सोमबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो। तेस्रो दिन चिकँमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरि मार्ग निर्धारण गरिएको छ।
रथयात्राको पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ। रथयात्रामा हजारौँको सहभागिता जुटेको छ। रथयात्राका लागि शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ।
मङ्गलबार लगनमा माताको मन्दिर दुईपटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ। काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथ यात्रापछि नै ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ।































प्रतिक्रिया