काठमाडौं ।
पछिल्लो एक दशकमा नेपालमा ४० लाख नयाँ रोजगारी सिर्जना भएको छ । विश्व बैंकले तयार पारेको एक अध्ययन प्रतिवेदनमा ४० लाख नयाँ रोजगारी सृजना भएको उल्लेख गरिएको हो ।
विश्व बैंकको अध्ययन प्रतिवेदनमा नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएको तथा यसले रोजगारी सिर्जना हुने संख्या बढाएको उल्लेख गरिएको छ । त्यस्तै, सो प्रतिवेदनमा सबैले गुणस्तरीय जागिर भने नपाएको उल्लेख गरिएको छ । त्यसमध्ये पनि महिलाहरुले कम गुणस्तरीयको जागिर पाएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार प्रदेश नम्बर ३ ले यस अवधिमा सबैभन्दा बढी रोजगारी सिर्जना गरेको देखिएको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रोजगारी सिर्जना भएको विश्व बैंकको सो अध्ययन प्रतिवेदनले जनाएको छ ।
त्यसैगरी, भूकम्पपछि निर्माण क्षेत्रले गति लिएसँगै रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । जसमा साढे ५ लाख मानिसले जागिर पाएका उल्लेख छ । त्यसैगरी, पछिल्लो दशकमा पुरुषहरुको ठूलो जमात निर्माण, उत्पादनमूलक उद्योग, व्यापार तथा यातायातको क्षेत्रमा समेत काम गरिरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । त्यसैगरी, नेपाली युवाहरुको ठूलो जमात वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएको समेत विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार कुल रोजगारी मध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ मा आइपुग्दा बढेर २४ प्रतिशतमा पुगेको छ । त्यस्तै, सन् २०१८ मा नेपालमा ३८ लाख मानिसहरु जागिर गर्दथे । जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए । विश्व बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरु मध्ये अधिकांश पुरुष छन् । अधिकांश पुरुषहरु ३५ वर्ष मुनीका छन् भने उनीहरुले माध्यमिक तहभन्दा मुनीको शिक्षा मात्रै प्राप्त गरेको देखिएको छ ।
तर पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भने लाखौँ मानिसको रोजगारी गुमेको छ ।































प्रतिक्रिया