गठबन्धनको तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगनकुमार थापा

गठबन्धनको तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगनकुमार थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानिय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् । 

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताए । 

उनले गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ-आफु निर्वाचन लड्ने बताए । 

 स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उल्लेख गर्दै महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताए । 

उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको समेत दाबी गरे । उनले भने, ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ । पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरुलाई मनाउने कोसिस गर्छौ । मानेनौ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो । तर मलाई यो भनिरहँदै गर्दा पनि फेरीपनि के लाग्छ भने हामीले यसका बारेमा, नेपालको लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भनेर यो विषयका बारेमा एउटा उचित समयमा छलफल गर्नैपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उनको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उनले बताए । 

Skip This
Skip This
Logo