गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा आउने (भिडियाे)

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा आउने (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरि ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान शुरु गर्ने बताए । उनले वैशाख ८ गतेदेखि धावनमार्ग शुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने नहुने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने जानकारी दिए । 

महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काम मात्र बाँकी रहेको स्पष्ट पारे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभूवन विमानस्थलमा ट्राफिक कम हुने विश्वास लिएको बताए । महानिर्देशक अधिकारीले अहिले न्यारोबडी र वाइडबडीका लागि धावनमार्ग तयार भएको जानकारी दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको पनि बताए । जजिराले अर्को हप्ताबाट टिकट बिक्री गर्ने सम्भावना रहेको पनि उनले जानकारी दिए। 

महानिर्देशक अधिकारीले पोखराको विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको र ढिलोमा अंग्रेजी नयाँ वर्ष र छिटोमा दशैंसम्ममा पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने बताए । उनका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको छ। अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्ने र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको बताए।

महानिर्देशक अधिकारीले कोरोना भाइरसपछि बढ्दो हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने बताए । त्यस्तै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि २४ सै घण्टा खुल्ला गर्ने र गौतमबुद्ध तथा पोखरा अन्तर्राट्रिय विमानस्थल पनि सञ्चालनपछि २४ सै घण्टा खुल्ला गर्ने जनाएको छ। 

·       पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दशैंसम्म सञ्चालन गरिने

·       जेठ १५ गतेदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा खुला संचालनमा ल्याउने

·       देशका सबै विमानस्थलमा अत्याधुनिक सुविधासम्पन्न टर्मिनल भवन बनाउने

·       तराईका रात्रीकालीन उडान भर्ने विमानस्थल संचालन को समय राती १२ बजेसम्म बढाउने

महानिर्देशक अधिकारीले नेपालका विमानस्थलको पूर्वाधारको विकाश तथा स्तरोन्नतीमा पर्यटनमन्त्री प्रेम आलेको विशेष निर्देशन रहेको बताए । मन्त्रालय तथा प्राधिकरणबीच भएका बिभिन्न बैठकमा मन्त्री आलेले आन्तरिक विमानस्थलको विकाश तथा स्तरोन्नतीले हवाइ उड्डयन क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने भन्दै योजना बनाएर काम गर्न निर्देशन दिएको बताए । मन्त्रीको निर्देशन अनुसार अहिले भइरहेका टर्मिनल बिल्डिङहरु पुरानो भइसकेका र अब सबै विमानस्थलका टर्मिनल बिल्डिङ बनाउने योजनामा प्राधिकरण रहेको बताए । महानिर्देशक अधिकारीले पहाडका ३७ वटा विमानस्थलमा १५ औँ योजनाअन्तर्गत कालोपत्रे गर्ने योजना भएपनि प्राधिकरणले ४० वटा विमानस्थलको कालोपत्रे गर्ने योजना बनाएको जानकारी दिए । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बिल्डिङ पनि अत्याधुनिक बनाउने योजनामा प्राधिकरण रहेको बताए ।

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा खुल्ला गर्ने र तराईका रात्रीकालीन उडान भइरहेका विमानस्थलको सेवा राति १२ बजेसम्म बढाउने योजना रहेको पनि जानकारी दिए। उनले तराईका अधिकांश विमानस्थलका टर्मिनल बिल्डिङलाई नयाँ अत्याधुनिक र सुविधासम्पन्न बनाउने बताए। उनका अनुसार अब बन्ने टिर्मिनल बिल्डिङ अत्याधुनिकका साथै व्यापारिक परियोजनाका लागि पनि बनाइने छन् ।

उनले अबको १० वर्षमा निजगढ विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । यदी १० वर्षभित्र अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए नेपालको उडान समस्या पुनः अहिलेकै जस्तो हुने उनको भनाइ छ। महानिर्देशक अधिकारीले विमानस्थलको बढ्दो प्रयोगसँगै मुलुकको अर्थतन्त्रमा पनि यसले सकारात्मक विकास गर्ने बताए । उनले अब पनि विमानस्थलको प्रयोगमा वृद्धि गर्ने र पर्यटकहरुलाई आकर्षण नगर्ने छुट प्राधिकरणसँग नरहेको स्पष्ट पारे।

प्राधिकरणले तराईका विमानस्थलमा भइरहेका रात्रिकालीन आन्तरिक उडानलाई १२ बजेसम्म सञ्चालन गरेपछि त्यसले पर्यटन क्षेत्रमा पनि सुधार गर्ने विश्वास लिएको छ। हवाइ उडानको उचित र सही व्यवस्थापन गरेर अघि बढ्ने हो भने त्यसबाट आएको रकमले नै विमानस्थलको मर्मत र देशको समृद्धिमा सहयोग पुग्ने विश्वास प्राधिकरणको छ।

 

Skip This
Skip This
Logo