गठबन्धन भित्रै पहिरो जान सुरु भएकाे प्रदीप ज्ञवालीको दाबी

गठबन्धन भित्रै पहिरो जान सुरु भएकाे प्रदीप ज्ञवालीको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरू भित्रै पहिरो जान सुरु गरेको दाबी गरेका छन् ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैँ अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाई छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरू तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटक पटक दोहोर्‍याए । गठबन्धनका लागि नेपालगंजमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रम मात्रै हुने बताए । उनले सत्तारुढ दलहरू कमजोर रहेकाले नै अरू दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरेका छन् । उपमहासचिव ज्ञवालीले भन्ने, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठ्यारो पार्छ कि भन्ने खालको जुन मनोवैज्ञानिक दबाब सृजना गर्न खोज्या छन् । त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरूलाई आग्रह गर्दछु । पहिलो कुरा, गठबन्धन कुनै शक्तिको, सबलताको, सक्षमताको प्रतीक होइन, यो दुर्बलताको प्रतीक हो । बलियोले लट्ठी टेक्दैन । बलियोले बैसाखी टेक्दैन । कमजोरले मात्रै बैसाखी वा लट्ठीको सहारा लिन्छ, कमजोरले मात्रै गठबन्धन गर्छ । बलियोले गठबन्धन गर्दैन । सत्ताले प्रतिपक्षसँग गठबन्धन गर्दैछ भनेपछि आधा लडाइँ त हामीले त्यसै जित्यौँ । हामी सक्दैनौ भनेको हो नि त, उहाँहरूले । यो गठबन्धनलाई कुनै पनि भयको रूपमा लिन जरुरी छैन । विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौँ । उनीहरूले जतिसुकै प्रयास गरे पनि गठबन्धन तलसम्म एकताबद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरू अत्तालिएका छन् । तर जतिसुकै गरे पनि उनीहरूले यो गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लैजाने अवस्था छैन । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ । नेपालगंजमा जसपाले मान्दिन भन्यो । पर्सामा काँग्रेसले सम्भव छैन भन्यो । रोल्पामा हुँदैन भनेर आजभोलि नै वक्तव्य आउने अवस्था छ । अरू धेरै ठाउँमा यो पहिरो जानेवाला छ । चितवनका काँग्रेस के गर्छन्, यो उनीहरूको कुरा हो । तर, जे हुँदा पनि हामीलाई पोलिटिकल्ली, मोरल्ली र गणितीय रूपमा पनि हामी हिसाबकिताब लिन्छौँ ।’

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रूपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुको विकल्प नरहेको बताउनु भएको थियो ।

Skip This
Skip This
Logo