साझा यातायातले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस अपांगमैत्री हुने जनाएको छ। साझाले अपांगता भएकाहरुका लागि सहज तरिकाले बसमा आवतजावत गर्नका लागि विशेष व्यवस्था गर्ने भएको छ।
साझाले ३ वटा बस परीक्षणका लागि नेपालमा उपलब्ध गराउने भएको हो। यी बस हाल भन्सारमा भित्रिसकेका छन्। केही दिनभित्रै यी बस काठमाडौंमा आइपुग्नेछन्।
साझा यातायात सहकारी संस्थाका सञ्चालक समिति सदस्य भूषण तुलाधरका अनुसार यी बस सिंगल चार्जमा २ सय किलोमिटर गुड्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न रुटमा परीक्षण गरिए पश्चात अन्य बस भित्र्याउने बारेमा छलफल हुने उनले बताए ।
संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो। सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ।
सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भारका साथै स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ।
संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत भएको थियो।





























प्रतिक्रिया