एक दिनको कमाइले हप्ता दिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ।
बाँकेको जानकी गाँउपालिका-३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् । अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहेनतका साथ काम गर्नुपर्ने र भनेको जस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरुको आकर्षण बढ्दै गएको हो ।
पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेशामा लागेको स्थानीयहरुको भनाइ छ। हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु राँगा, भैँसी किन्नका लागि जाने गर्छन् । बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेको बताउँछन्।
पशु व्यापारी जमीर खाँ भन्छन्, ‘हाल छिमेकी गाउँ र जिल्लाका मानिसहरुले गाउँबाट भैँसी, राँगा किन्ने र पशु हाट बजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको छन्। करिव २५ वर्षदेखि यो पेशा गर्दै आएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरुले काम पाएको पनि बताए ।’
यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अलीले पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताए। उनले पशु हाट बजारबाट स्थानीयहरु सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको पनि बताए ।
स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थालेको लगभग २० वर्ष भयो । उनले लकडाउनमा केही कम भएपनि अहिले भने पशु बजारमा किनबेच हुने संख्या बढीरहेको बताए। उनले हरेक हप्तामा १० हजारसम्म नाफा भइरहेको सुनाए।
स्थानीयहरुले पशु हाट बजारलाई आम्दानीको स्रोतको माध्याम बनाएका छन्। तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरुको गुनासो छ।































प्रतिक्रिया