नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ। अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नआत्तिन सुझाव दिए ।
उनले भने, अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।
अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको अथर्मन्त्रीले बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको र यो गलत भएको भन्दै उनले उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे ।
उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दै ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरे ।
त्यसैगरी उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न प्रदर्शनीस्थलको निर्माणका लागि बजेट विनियोजन गरि दिनु हुनसमेत अनुरोध गरे ।
उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरुबारे अर्थमन्त्रीलाई विस्तृतरुपमा जानकारी गराए । सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टसको चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे ।
सोही छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरि दिन आग्रहसमेत गरे । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया