नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा बैशाख ५ गतेदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो ।
श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।
श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्ने उनको भनाइ छ । अध्यक्ष पोखरेलले भने, पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ । श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन ।
त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समिक्षापछि बाध्य भएका छौं । त्यसकारण भोलि आइतबारदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौं । आइतबार र सोमबार कान्तिपुर टेलिभिजनमा धर्नाको कार्यक्रम छ ।
त्यसपछि अन्य संस्थाहरु, जहाँ श्रमको शोषणा भइरहेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ । हामीले संवादमार्फत् सो समस्या समाधान गर्ने सन्दर्भमा तदारुपता देखाइएको छैन । ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं । महासंघको मुख्य दायित्व प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्नु नै हुन्छ । यी दुई वटा दायित्वबाट कुनै पनि हालतमा हामी पछाडि हट्दैनौं भन्ने स्पष्ट सन्देश दिन चाहन्छौं । प्रेस स्वतन्त्रताका लागि ड्राफ्ट भएको कतिपय कानुनहरु प्रेस स्वतन्त्रतामैंत्री छैनन् । राज्यसँगको लडाई पनि सँगसँगै जारी रहन्छ ।’
महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको बताए । महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानुनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ ।





























प्रतिक्रिया