नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको छु भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए।
अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए । ‘मैले के गल्ती गरें ? मैले के विगारेको छु, झन् रामचन्द्रले मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने ।
पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह गरे। ‘हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबण्डा खोज्नुहुन्छ। निर्वाचन गरेर स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढौं। जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने।
नेविसंघका नेताहरूलाई उनले पढाईमा पनि अब्बल हुन निर्देशन दिए। ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो। पढाईमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।
अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए। सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ। एकआपसमा मनमुटाव हुन्छ। त्यसलाई बिर्सिनुपर्यो नि। चुनाव हारेको भाेलिपल्ट त्यसलाई बिर्सिहाल्नु पर्यो। हार स्वीकार्दैनन् कहाँबाट हुन्छ।’





























प्रतिक्रिया