प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) प्रहार गर्नेविरुद्ध कडा कानुन बनाउने बताएका छन्।
एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने जानकारी दिएका हुन् ।
यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले अपराधीको सम्पतत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका छन् ।
वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् । साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत उनले बताए।
हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।





























प्रतिक्रिया