नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० क्रिकेट प्रतियोगितालाई आधिकारिक मान्यता दिँदै आयोजना गर्ने भएको छ। क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक प्रतियोगिताको रूपमा नेपाल टी-२० आयोजना गर्ने घोषणा गरेको हो।
हाल नेपालमा निजी क्षेत्रबाट एभरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरु आयोजना हुँदै आएका छन् ।
नेपाल टी-२० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यवसायिक साझेदारको रूपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।
क्यानले आठ वर्षमा सेभेन थ्रीसँग सम्झौता अनुसार करिब ३१ करोड हाराहारी आर्थिक रकम प्राप्त गर्नेछ। क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ।
प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी-२० नेपाली क्रिकेट, विशेषगरि क्रिकेटमा भविष्य खोजिरहेका युवाहरूका लागि ठूलो पहल हुने बताए ।





























प्रतिक्रिया