काठमाडौं ।
नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । ०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ ।
पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पदार्थको गुणस्तर सुनिश्चित भएको छ ।
उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजना अनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ ।































प्रतिक्रिया