राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र बारे स्पष्ट भएर मतदातासामु जान उम्मेदवारहरुलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुसँगको भेटमा अध्यक्ष लिङदेनले उच्च मनोवलका साथ चुनावमा होमिन सबैलाई निर्देशन दिए । राप्रपाको घोषणापत्र अन्य दलको भन्दा स्मार्ट रहेको उनको दाबी थियो ।

लिङदेनले भने, 'अन्य दलको भन्दा स्मार्ट घोषणापत्र राप्रपाको छ । नसक्ने हावादारी कुरा गरेको छैनौं ।आकाशको तारा झार्ने कुरा गरेका छैनौं । यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा तयार पारिएको घोषणापत्र छ राप्रपाको ।'
भ्रष्टाचार र बेइमानी गर्दिन भन्ने मानसिकता अहिलेबाटै बनाउन निर्देशन दिँदै उनले भने, 'राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहन्छ भन्ने कुरा मतदातालाई विश्वास दिलाउनु ।'

राप्रपाले शक्ति देखाउने अवसरको रुपमा आगामी स्थानीय तहको निर्वाचनलाई लिएको उनको भनाइ छ । उम्मेदवारसँग लिङदेनले भने, 'राप्रपा बन्द कोठामा सीमित हुने पार्टी होइन, जनताको मन मस्तिष्कमा बसेको पार्टी हो । जीवनमा राप्रपा हुन्छु भन्ने कल्पना नगरेकाहरु पनि अहिले राप्रपामा आउन तँछाडमछाड गरिरहेका छन् ।'

पछिल्लो जनलहर कायम राख्दै अकल्पनीय परिणाम निकाल्न सक्ने विश्वास उनको थियो । राप्रपाले नेपालको विकृत राजनीतिमा सुधार ल्याउने अठोट लिएको बताउँदै उनले राप्रपाको प्रतिनिधिका रुपमा काम गर्न उम्मेदवारलाई निर्देशन दिए ।































प्रतिक्रिया