गृहमन्त्री खाणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

गृहमन्त्री खाणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएका छन्। गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए। गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्टरूपमा बताएको पौडेलले बताए। आफूले दिएको उम्मेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए । 

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिएँ । तपाईंहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भनेँ ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए । विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन्। आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए। पहिलो भेटमा पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किएका छन्। 

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेटेका थिए । सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाणको आग्रह अस्वीकार गरेका छन् । गठबन्धनबाट भरतपुरको मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिएका हुन्।

Skip This
Skip This
Logo