निर्वाचन आयोगले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए।
निर्वाचनका लागि मतदानस्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको उनको भनाइ छ।
विद्यालय तीन दिन बन्द रहँदाको बेला पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उनको भनाइ छ। 'तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ। यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,' अर्यालले भने ।































प्रतिक्रिया