सामाजिक सञ्जालमा गरेका प्रचारको विवरण अनिवार्य बुझाउन आयोगको निर्देशन

सामाजिक सञ्जालमा गरेका प्रचारको विवरण अनिवार्य बुझाउन आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारले गरेको प्रचारप्रसारको विवरण बुझाउन निर्देशन दिएको छ ।

आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले चुनावमा भाग लिएका ७९ दललाई पत्राचार गरेर खाताको विवरण अनिवार्य रुपमा बुझाउन शुक्रबार निर्देशन दिएको हो । राजनितिक दल र उम्मेदवारहरुको लागी घरदैलो साथसाथै सामाजिक सञ्जाल पनि प्रचारप्रसारको बलियो माध्ययम बनेको छ । त्यसैले आयोगले पनि सामाजिक सञ्जालको निगरानीलाई बढाएको छ । 

आयोगले पठाएको पत्रमा ‘प्रचारप्रसारका लागि प्रयोग गरिने सामाजिक सञ्जालको खाताको विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र अनिवार्य रुपमा बुझाइ स्वीकृति लिने र स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएमा त्यसलाई आचारसंहिता उल्लंघन मानी कारबाही हुने’ आयोगबाट दलहरूलाई पठाइएको पत्रमा उल्लेख छ।

राजनीतिक दलले निर्वाचन आयोग र उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यस्ता सामाजिक सञ्जालका खाताको विवरण बुझाउनुपर्ने उप-न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेद्वारा हस्ताक्षरित आयोगको पत्रमा उल्लेख छ। आयोगले वैशाख ११ गते गरेको निर्णय कार्यान्वयन गराउन शुक्रबार सबै दलहरूलाई पत्राचार गरेको हो।

निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को खण्ड (ठ) मा भएको सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले‚ होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण र भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने स्मरण आयोगले गराएको छ।

सोही दफाको खण्ड (ड) मा कुनै प्रयोजनका लागि प्रकाशन वा प्रशारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा कमेन्ट गर्न वा गराउन नहुने व्यवस्था कार्यान्वयन गर्न गराउन पनि आयोगले निर्देशन दिएको छ। 

Skip This
Skip This
Logo