निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्न मध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ। देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन्। उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो।
४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।
आयोगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाउने आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ यसअघि सहभागी नभएका दलसँगै राप्रपा नेपाल, जनमत पार्टीसहितका ४० वटा दलले पनि दलकै चिह्न पाउने भएका छन्।





























प्रतिक्रिया