यस्ता छन् टोखा नगरका लागि मेयर उम्मेदवार रजनी थापाले अघि सारेका विकास योजना

यस्ता छन् टोखा नगरका लागि मेयर उम्मेदवार रजनी थापाले अघि सारेका विकास योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं जिल्लाका ११ नगरपालिकाका मेयर उम्मेदवार मध्ये कसैको चर्चा छ भने यतिखेर टोखा नगरपालिकाकी मेयर उम्मेदवार रजनी थापाको पनि चर्चा छ । नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मेदवार बनाएपछि नगरभित्र तरंग उत्पन्न भएको हो । यसअघिको स्थानीय निर्वाचनमा थापा ५१ मतले उपमेयरमा पराजित भएकी थिइन् । तर यसपटक भने उनी मेयरमा उम्मेदवार भएकी हुन् । यसपटकको मेयरमा उम्मेदवार दिएका मध्ये उनी कान्छी उम्मेदवार पनि हुन् । 

टोखामा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएकी थापाले यसपटक भने मेयरमा जित हात पार्ने दाबी गरिन् । देशभर गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रँदै गर्दा टोखामा भने कांग्रेसले एक्लै चुनाव लड्दैछ । 

यसअघि एमालेले जितेको यस नगरमा अहिले कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उठेका छन् । राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिनु पर्ने बताउँदै थापाले भनिन्, ‘यसअघि टोखाबाट जितेकाहरूले गर्न नसकेको काम यसपटक म गरेर देखाउँछु।’ 

उनी नेपाली कांग्रेसका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ जस्ता भातृसंगठनमा बसेर कुशलतापूर्वक काम गर्दै आएकी छिन् । नगरको विकास र प्रगतिका लागि काम गर्न सक्ने क्षमता रजनीमा रहेको यहाँका नागरिकहरु बताउँछन् । 

यसपटक टोखा नगरपालिका प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये सबैभन्दा धेरै चर्चा रजनी थापाकै छ । कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बोकेर अघि बढेकी थापाले विगतमा आफूले गरेका कामको मूल्यांकन यसपटक टोखावासीले गर्ने विश्वास व्यक्त गरिन् ।

टोखा नगरपालिकालाई विकासका हरेक आयामसँग जोड्न उनले हालै मात्र चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन् । जसलाई टोखावासीले त रुचाएका छन् नै , कांग्रेस पार्टीले पनि उत्कृष्ट घोषणापत्र मानेको छ । ‘टोखा नगरपालिकाले अहिले पनि विभिन्न समस्याहरु सामना गरिरहेका छ । शिक्षा, स्वास्थ्य, स्वरोजगार, यातायात, विद्युत, पानी लगायतका अत्यावश्यक पूर्वाधारहरुको उचित विकास तथा आम नगरवासीको समान पहुँच अझैसम्म पुगिनसकेको अवस्था छ।' थापाले घोषणापत्रमा उल्लेख गरेकी छिन् ।

शिक्षा क्षेत्रमा बालमैत्री शिक्षाका लागि नगरभित्रका प्रत्येक सरकारी विद्यालयहरुको अवस्थामा व्यापक सुधार गर्ने घोषणापत्रमा उल्लेख छ । यस्तै सरकारी विद्यालयहरु निजी विद्यालयको तुलनामा थप आर्कषक र सुविधा सम्पन्न बनाई निःशुल्क बनाईनुका साथै प्राथमिक तहदेखि नै अनिवार्य अंग्रेजी भाषामा अध्ययन अध्यापन गराईने र प्रत्येक माध्यमिक विद्यालयमा विद्यार्थीको संर्वागिण विकासका लागि अनिवार्य विज्ञान प्रयोगशाला, खेल मैदान ब्यवस्था गर्दै उद्यमशीलता, राष्ट्रभक्ति र सीप विकासका लागि परामर्शदाताको व्यवस्था गरिने उल्लेख छ।

सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्न निजी विद्यालयसरहको शिक्षा प्रदान गर्नका लागि स्मार्ट तथा टकिङ सिस्टम लागू गरिने र तीन वर्षभित्र नगरभित्र तीन वटा सार्वजनिक विद्यालयलाई आवाससहितको नमुना विद्यालयको रुपमा विकास गरिने पनि मेयर थापाले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ। 

यस्तै स्वास्थ्य क्षेत्रमा पनि निकै आकर्षक कार्यक्रमहरु समेटिएको छ । जस अन्तर्गत नगरका हरेक नागरिकलाई स्वास्थ्य बीमामा जोडिनुका साथै निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा सर्वसुलभ उपचारको ब्यवस्था गर्न नगरवसीहरुका लागि स्वास्थ्य कार्डको ब्यवस्था गरिने र मातृ–शिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरि दीर्घरोगीहरु, विपन्न र बालवालिकाहरुको हकमा विशेष स्वास्थ्य कार्यक्रमको व्यवस्था गरिने उल्लेख छ ।

पहिलो वर्षदेखि नै नगरभित्रका स्वास्थ्य चौकी वा सरकारी अस्पतालमा सुत्केरी गराउने विपन्न परिवारलाई सुत्केरी स्यहार भत्ता वापत पाँच हजार रुपैयाँ प्रदान गरिने ब्यवस्थाको सुरुवात गरिनेछ भने छोरी जन्मिएमा छोरी पोषिक आहारका लागि थप दुई हजार प्रदान गरिने पनि जनाइएको छ ।  

सडक निर्माण तर्फ प्रत्येक वडामा कम्तिमा दश किमी बाटो कालोपत्रे तथा पक्की बाटो निर्माण गर्ने तथा पुराना सडकको मर्मतसम्भार एवम् स्तरोन्नती गरिनुका साथै सडकमर्मत पूर्व ढल, खानेपानीको उचित ब्यवस्थापन गरि उपभोक्तालाई हस्तान्तरण गरिने बताइएको छ। 

नगरवासीका लागि स्वच्छ खानेपानीको ब्यवस्था गर्न वर्तमान अवस्थामा चालु रहेका परियोजनालाई निरन्तरता दिँदै उपभोक्ता समितिहरु मार्फत खानेपानी मुहानको पहिचान, र संचालन  गरि स्वच्छ खानेपानीको ब्यवस्था गरिने पनि उल्लेख छ। 

नेवार संस्कृति तथा नगरभित्रका मठ मन्दिर चैत्य, गुम्वाहरुको संरक्षण गरि पर्यटन प्रवर्धन गरिने र चाडपर्व, जात्रा, मेला, नाचगान, भजन–कीर्तन, वाद्यवादन जस्ता परम्परागत सांस्कृतिक अभ्यासहरूको संवर्द्धन र प्रवर्द्धन गर्न स्थानिय नेवार, ब्रामहण, क्षेत्री, लगायतका संस्कृति झल्कने घरहरु निमार्ण तथा मर्मत गरि पर्यटन आकर्षित गर्न विशेष सहुलियत तथा सुविधा प्रदान गरिनेछ । तारे होटल निर्माणका लागि ठूला होटल ब्यवसायीहरुलाई नगरमा आकर्षित गरिने पनि उनले उल्लेख गरेकी छिन् ।

युवाहरुको स्वरोजगार तथा उद्यमशील बनाउनका लागि नगरभित्रै कृषि फर्म, कौसीखेती, पशुपालन तथा मासु उत्पादनका लागि साङ्गला, बानियाँटार, गोगंबु क्षेत्रलाई पकेट क्षेत्रको रुपमा निर्माण गरि कृषि रोजगार सृजना गरिने र कृषकको क्षमता बृद्धिका लागि वार्षिक अनुदान तथा तालिमको ब्यवस्था गरिनुका साथै यस्ता कार्यका लागि वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुको शीप र ज्ञानलाई प्रयोग गर्दै तथा वेरोजगार युवाहरुलाई प्राथमिकतामा राखिनेछ । सामूहिक लगानी गरी स्वदेशमै घरेलु उद्योग कल कारखाना खोल्न प्रेरित गरिने जनाइएको छ । 

यस्तै विपद ब्यवस्थापनका लागि प्रत्येक वडामा कम्तिमा ५० युवाहरुलाई विपद ब्यवस्थापन तथा उद्धार सेवाको प्रशिक्षणको ब्यवस्था गरि स्वयंसेवकको ब्यवस्था गरिनुका साथै आपतकालिक सेवा केन्द्रको स्थापना गरी संचालनमा ल्याइने पनि मेयर थापाले उल्लेख गरेकी छिन् । 

Skip This
Skip This
Logo