कोरोनासँग लिभिङ टुगेदरमा अगाडि बढ्नुको विकल्प छैन–मन्त्री पोखरेल

कोरोनासँग लिभिङ टुगेदरमा अगाडि बढ्नुको विकल्प छैन–मन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । मंगलबार उपत्यकाका सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले त्यस्तो बताएका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

उपत्यकाका प्रतिनिधि सभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताए । उनले भने–‘कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन । हामीले महामारीसँग होस पु¥याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन । निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ । आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्छ ।’

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहेका मन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले उपत्यका संक्रमणको हब बनेको बताए । सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै नीजि अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडि बढिरहेको उनको भनाइ छ ।

त्यस्तै उपत्यकाका सांसदहरुको संयोजन गर्दै मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेसनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना बीमाको व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगलेभन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले केही नगरेको उनको गुनासो छ । कोरोनाबाट कारागारभित्र अहिलेसम्म ४ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले धेरेलाई लक्षण देखिएपनि परीक्षण नभएकोमा दुःख व्यक्त गरिन । कैदीहरुको व्यवस्थापनका लागि कानुनअनुसार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिध सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Logo