रियल मड्रिडलाई बराबरीमा रोक्ने योजनामा म्यानचेस्टर सिटी

रियल मड्रिडलाई बराबरीमा रोक्ने योजनामा म्यानचेस्टर सिटी

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनी क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार राति पौने एक बजे रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यो लेगको बिजेता क्लबले लिभरपुल विरुद्ध २९ मे पेरिसमा फाइनल खेल खेल्नेछ ।

इत्तिहादमा भएको पहिलो लेगमा घरेलु टोली म्यानचेस्टर सिटी ४-३ गोल अन्तरमा विजयी भएको थियो । च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सिटीलाई बराबरीमात्र पनि काफी छ भने रियललाई कम्तीमा २–० को जित आवश्यक छ । सिटी र रियलको विजेताले फाइनलमा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुल भियारियललाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

रियल मड्रिड पहिलो लेगको हारलाई बिर्सदै ८१ हजार घरेलु समर्थक सामु पुनरागमन जितको लक्ष्यसहित बर्नाबेउमा उत्रनेछ । आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा घरेलु दर्शकदीर्घा अघि जादुयी प्रदर्शन देखाउने अपेक्षाका साथ किर्तिमानी ३५ पटकको ला लिगा च्याम्पियन रियल मड्रिड मैदानमा उत्रने पक्का छ ।

रियल मड्रिडले ला लिगा जितिसकेको हुनाले मड्रिडलाई अब च्याम्पियन्स लिग बाहेक अन्य कुनै प्रतियोगिताको दबाब छैन । त्यसैले पनि म्यानचेस्टर सिटीविरुद्ध थप आक्रामक र खुलेर प्रदर्शन गर्ने कुरामा विश्वस्त रहन सकिन्छ ।

अर्कोतिर आफ्नो पहिलो युरोपेली च्याम्पियन ट्रफीका लागि संघर्ष गरिरहेको इंग्लिस महारथी सिटीलाई पहिलो लेगमा बनाएको अग्रता जोगाउन चुनौतीपूर्ण हुनेछ । पहिलो लेगमा ४–३ गोल अन्तरको जित निकालेपनि घरेलु मैदानमा खाएको ३ गोल उसका लागि भारी पर्न सक्नेछ । फाइनलमा स्थान बनाउन उसलाई कम्तीमा बराबरी आवश्यक छ । च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक गत सिजन फाइलनमा पुगेपनि सिटी उपाधि चुम्नबाट भने बन्चित भएको थियो । 

म्यानचेस्टर सिटीका लागि उसका भरपर्दा मिडफिल्डर केभिन डी ब्रुएनको प्रदर्शनले आज पनि ठूलो महत्व राख्नेछ । रियलविरुद्धको पहिलो लेगको जितमा प्रमुख भूमिका खेलेका केभिनकै नेतृत्वमा बर्नाबेउमा पनि मड्रिड भन्दा एक कदम अघि रहने योजनामा सिटी हुनेछ ।

 रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमा यो सिजन निकै उत्कृष्ट लयमा छन् । उनले जारी सिजन टोलीका लागि ३७ गोल गरिसकेका छन् भने १३ गोलका लागि असिस्ट गरेका छन् । उनले गरेका ३७ गोलमध्ये १४ गोल च्याम्पियन्स लिगका हुन् अर्थात् बेन्जेमा क्रिस्टियानो रोनाल्डोले एकै सिजन गरेको १७ गोलको रेकर्ड भन्दा ३ गोलले मात्र पछि छन् । क्वाटरफाइनलमा चेल्सीविरुद्ध ह्याट्रिक गरेका बेन्जिमाले सिटीविरुद्धको पहिलो लेगमा २ गोल गरेका थिए । रियल मड्रिडले हालसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । 

आजको खेलमा म्यानचेस्टर सिटीले आफ्नो अग्रतालाई जोगाईराख्न रियल मड्रिडको घरेलु समर्थकका अघि बेन्जेमालाई गोल गर्नबाट रोक्नु पर्नेछ । रियल मड्रिडका लागि आफ्नो घरेलु समर्थक अघि म्यानचेस्टर सिटीलाई गोल गर्न रोकी कम्तिमा १–० गोल अन्तरको जित निकाल्नु पर्नेछ ।  

Skip This
Skip This
Logo