यसपालिको मनसुनमा धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन

यसपालिको मनसुनमा धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन

केन्द्रबिन्दु
0
Shares

यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ।

विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आँकलन छ। त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ। 

आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आँकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन छ।  

सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ। यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ।

यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आँकलन गरिएको छ। 

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा ६ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आँकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको औँल्याए। उनले त्यसका लागि विभागले सूचना मात्रै दिने हुँदा सम्बन्धित निकायबाट बेलैमा तयारी गर्न पनि सुझाव दिए। उनले विभाग आर्थिकलगायत विविध चुनौतीबाट गुज्रिरहेकाले भौतिक पूर्वाधारमा गरेको लगानीको १० प्रतिशत रकम मात्रै यस क्षेत्रमा लगानी गर्न सके धेरै क्षति न्यूनीकरणमा सहयोग पुग्ने पनि बताए।

विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आकलन गरी उक्त विवरण सार्वजनिक गरिएको बताइन्। उनका अनुसार ३३.३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६.६ प्रतिशतसम्मलाई  सरदर र त्योभन्दा माथि  भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था आकलन गरिन्छ । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर उक्त तथ्य निकाल्ने गरिएको बताए।

यसका लागि विभिन्न मोडलको प्रयोग गरिने र त्यसको आधारमा विश्लेषण गरेर आँकलन गर्दै आइएको छ। सन् २०२० देखि विभागले आफैँ पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्न थालेको छ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी उक्त आकलन तयार पारिएको हो।
 
यस्तै  विश्व मौसम सङ्गठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानीको प्रारूपको आँकलन, विभागको आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार लिएर बनाइएको हो। 

यद्यपि जलवायु प्रणाली, विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विज्ञहरुले बताएका छन्।

आज विभागले सार्वजनिक गरेको आँकलनपछि आयोजित समारोहमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेशकुमार घिमिरेले केही क्षेत्रमा आकलन नमिलेको कुरासमेत आइरहेकाले त्यसलाई अझै वैज्ञानिक बनाउनुपर्ने जरुरी औँल्याउँदै अहिलेको आँकलनले मुलुकमा चुनौती भएको जानकारी आएको र बेलैमा तयारी गर्नुपर्नेमा जोड दिए। 

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मौसम बदली हुनेबित्तिकै गौरवको आयोजना मेलम्चीमा केही भइहाल्ने हो कि भनेर चिसो पस्ने गरेको उल्लेख गर्दै विपद्ले खानेपानीका संरचनामा क्षति पुर्याउने गरेको बताए।
 
ऊर्जा मन्त्रालयको जलस्रोत तथा ऊर्जा सचिव सागरकुमार राईले मौसम प्रणालीलाई वैज्ञानिक बनाउन कसरी तिखार्न सकिन्छ सोअनुसार गर्न विभागका विज्ञहरुलाई सुझाव दिए। उनले मौसम विज्ञान विभागले सूचना मात्रै दिने भएकाले त्यसको क्षति न्यूनीकरणका लागि तत्तत् निकायले भूमिका खेल्न जरुरी रहेको पनि औँल्याए।
 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यो आकलनले पश्चिम तराईमा बाढी बढी हुने देखाएको औँल्याउँदै अझै बढी सचेतनापूर्वक काम गर्नुपर्ने देखाएको देखिएको बताए।

विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले मौसमका सूचनाका लागि आधिकारिक सूचना जाने एप निर्माण जरुरी भएकाे बताए। उनले अझै पूर्वसूचना प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजान पनि सुुझाव दिए।

उक्त अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका राजेन्द्र शर्मा, कृषि मौसमविद् रामेश्वर रिजाल, विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले धारणा राखिन्।

Logo