जनता समाजवादी पार्टीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ। जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरि पाँचदलीय गठबन्धन टुटिसकेको बताए। आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन्।
‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ। गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ पाँचदलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन। हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं।’
उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न पनि चेतावनी दिएका छन्। ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो। तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन्। यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् ।































प्रतिक्रिया