काठमाडौं ।
काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का प्रक्रिया रद्द भएको छ।
बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लियरेन्स’ तत्काल गर्न नसक्ने भएकाले रेल, मेट्रोरेल र मोनोरेल डेभलपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जनाएको छ ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । अहिले ५४ वटा प्याकेज सबै स्थगित भएका छन् ।
रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेज मध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । यसरी जग्गा अधिग्रहण पनि नगरी हतार हतार टेन्डर आह्वान गरिएको भनेर सबैतिरबाट विरोध भइरहेको छ ।
त्यस्तै रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तीन सातादेखि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइनमा प्रणालीमा समस्या आएकाले ठेक्का मूल्यांकन रोकिएको थियो । तर आइतबारदेखि खरिद अनुगमन कार्यालयले सूचना निकालेर आफ्नो वेबसाइट बोलपत्र डट जिओभी डट एनपीमा आएको प्राविधिक समस्या समाधान भएको बताएको छ ।

रेल विभागले गत असार १४ र १७ मा दुई वटा ठेक्का आह्वान गरेको थियो । जसमा जेभीसहित १२० भन्दा बढी कम्पनीले आवेदन दिएका थिए । विभागले निर्माण कम्पनीका लागि रेलमार्गमा नै काम गरेको हुनु पर्ने प्रावधान राखेको छ। जसमा नेपालका १८ वटा कम्पनीको मात्रै योग्यता पुग्थ्यो । डेढ दर्जन बाहेक अरु सबै कम्पनी अयोग्य हुने गरि विभागले रेलमार्ग निर्माणका लागि निकालेको यो तेस्रो ठेक्का थियो।





























प्रतिक्रिया