नेपालले जिम्बाब्वे 'ए' विरुद्धको वन डे क्रिकेट सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा आज जिम्बाब्वे 'ए'लाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज घरमै राखेको हो ।
जिम्बाब्वेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । गएराति भारी वर्षा भएपछि ओसिलो आउटफिल्डका कारण ५० ओभरको खेल ३३ ओभरमा छोट्याइएको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको उल्लेख्य पारी खेल्दा दीपेन्द्रसिंह ऐरी ६० र विनोद भण्डारी २८ रनमा नटआउट रहे । आसिफ शेखले २९ रनको योगदान गरे । सुनिल धमलाले ६ रन जोड्दा रोहित पौडेल गोल्डेन डक आउट हुन पुगेका थिए । ब्रेन्डोन माभुताले ३ र ब्राड इभान्सले एक विकेट लिएपनि भ्रमणकारी टोलीको हार भने टार्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली जिम्बाब्वे ३२.१ ओभरमा २१३ रनमा अलआउट भएको थियो । विष्फोटक सुरुवात गरेको जिम्बाब्वेका लागि टेडिवान्से मारुमानीले ५०, कुडजाइ माउन्जेले ३९ र रोए काइयाले ३६ रन बनाए । पहिलो ११ ओभरमा ८९ रन जोडेको जिम्बाब्वेको इनिङ्स सो पछि भने सुस्ताएको थियो ।
जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न किशोर महतोले ५ विकेट लिए । ७ ओभर बलिङ गरेका किशोरले एक मेडनसहित ४३ रन खर्चेर ५ विकेट झारे ।
सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा एक एक विकेट रह्यो । महंगो सावित भएका क्याप्टेन सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै ५६ रन खर्चिएपनि विकेट भने लिन सकेनन् ।
प्लेयर अफ द म्याच किशोर महताे हुँदा प्लेयर अफ द सिरिजकाे उपाधि भने करण केसीले पाए ।





























प्रतिक्रिया