स्थानीय तहको निर्वाचनका लागि रसुवाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरि पठाइएकाे हाे। मतदान केन्द्रमा पुगेका कर्मचारीले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गरेको समेत थापाले जानकारी दिए। सर्वदलीय बैठक बस्ने, सूचना टाँस गर्ने, लगायतका गतिविधिहरु सुरु गरेका छन् ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा स्वयंसेवकसहित ४१० जना कर्मचारी खटाइएको छ। निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो। जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदानकेन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदानस्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार ५४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला रहेका छन् ।































प्रतिक्रिया