कञ्चनपुरमा अर्काको नामबाट मतदान गर्न खोजेपछि विवाद हुँदा कञ्चनपुरको पुनर्वासमा मतदान स्थगित भएको छ । पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्य स्थगित भएको हो ।
मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदानस्थल सुरक्षित गर्न सुरक्षा कडा पारिएको प्रमुख निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिए । मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको र केहीबेरमा पुनः मतदान सुरु गरिने उनले बताए ।
यसैबीच फर्जी मतदान गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिपूर्ण ढंगले सुरु भएको मतदान मध्यान्ह १२ बजेतिर मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदानमा ७ देखि ८ सयको हाराहारीमा मत खसेको बताइएको छ ।
तीन हजार १५ जना मतदाता रहेको उक्त वडामा वडा अध्यक्षका लागि नेकपा एमालेबाट रामबहादुर थापा, माओवादीबाट शुकदेव राना, राप्रपाबाट रतन बहादुर मल्ल र कांग्रेसबाट धिरेन्द्र भट्ट प्रतिस्पर्धामा छन् ।





























प्रतिक्रिया