काभ्रे ।
राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा साङ्घातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका वडा नं. १० का उद्वव कार्कीले एक्कासी मुक्का हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ठाडो निवेदन दिएका छन् । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्ववलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए। आक्रमण गर्ने व्यक्ति काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल प्रहरी स्कूलका शिक्षकसमेत हुन् ।
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेको छ । घटनाको भत्र्सनाका साथ महासङ्घले दोषीमाथि कडा कारवाहीको माग गर्दै घाइते कार्कीको तत्काल उपचार र क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराइदिन प्रशासनसमक्ष माग गरेको छ । यसैबीच नेपाल प्रेस युनियन जिल्ला शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
महासङ्घ केन्द्रद्वारा निन्दा
नेपाल पत्रकार महासङ्घले राससका वरिष्ठ समाचारदाता कार्कीमाथि आज भएको भौतिक आक्रमणप्रति निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी महासङ्घ काभ्रे शाखाका सदस्यसमेत रहेका कार्कीलाई सूर्यविनायक–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकका रुपमा कार्यरत उद्ववले कुटपिट गरी घाइते बनाएको घटनाप्रति निन्दा गरेको हो ।
महासङ्घले पत्रकारलाई त्रसित बनाउने आपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्बाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासङ्घले घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आक्रमणप्रति युनियनद्वारा निन्दा
राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल प्रेस युनियन रासस शाखाले निन्दा गरेको छ । युनियनका केन्द्रीय सदस्यसमेत रहेका कार्की आज बिहान करिब ९ः३० बजे बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजिकैको चामुण्डा हार्डवेयरमा सामान किन्न पुगेका बेला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० घर भएका उद्धव कार्कीले अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणकारी उद्धव बनेपा नगरपालिका वडा नं १४ साँगास्थित नेपाल प्रहरी विद्यालयमा नेपाली शिक्षक पदमा कार्यरत रहेको युनियन शाखा अध्यक्ष मोहिनी मिश्र रिसालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार कार्कीमाथि आक्रमण गर्दा उद्धवले हेलमेट र मास्क लगाएका थिए । पुरानो हिसाब चुक्ता गर्छु भन्दै उनी आक्रमणमा उत्रिएका थिए । युनियनले आक्रमणकारीलाई कानूनी कारबाही गर्न, पीडकबाट उपचार गराई क्षतिपूर्ति दिन र अब आइन्दा सञ्चारकर्मीमाथि हुने यस्ता हर्कत नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरेको छ । पसलमा सामान किनिरहेका बेला पछाडिबाट टाउकामा प्रहार गरी पुरानो हिसाब चुक्ता गर्नु छ भन्दै निरन्तर आफूमाथि प्रहार गरिएको कार्कीले जानकारी दिए ।
आक्रमण लगत्तै उद्ववले घाइते कार्कीका कान्छा भाइ श्रीरामलाई फोन गरी परिवारका सबै सदस्यलाई एकएक गरी ढाल्ने धम्कीसमेत दिएको बताइएको छ । कार्की आजै धुलिखेल अस्पतालमा उपचारपछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला सञ्चारकर्मीमाथि हुने यस्ता गतिविधिले सञ्चार कर्ममा अवरोध गर्ने र आतङ्कितसमेत बनाउने भएकाले यस्ता गतिविधि रोकी स्वतन्त्र रुपमा निष्पक्ष भई कलम चलाउने वातावरण बनाउन पनि युनियनले सरकारसँग माग गरेको छ ।रासस































प्रतिक्रिया