नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेशका विभिन्न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेशवाला पार्टी हो।’ मधेश प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्ने अर्थमा ओलीले यसो भनेका हुन्। ओलीको यो अभिव्यक्ति मधेशका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो।
ठीक एक महिनापछि वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेशमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए।
ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएको छ। किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेश प्रदेशमा एमालेले दोस्रो दल बन्ने छनक देखाएको छ।
यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो ।
निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्याएको छ। नौ वटा स्थानीय तहमा भने अग्रता छ। अग्रता भएकामा पनि जित भए मधेश प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ ।
जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ ।
सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो। प्रदेश संसद्मा एमाले फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी० पार्टीभन्दा सानो छ।
तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ। नेकपा ९माओवादी केन्द्र०ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यसपटक १० स्थानीय तह जितेको छ।
माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ। मधेशमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ। अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी ९तत्कालीन राष्ट्रिय जनता पार्टीे० पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।
यद्यपि, एमाले भने निर्वाचनबाट मधेशमा शक्तिशाली दलको रूपमा उदय भएको छ। कांग्रेसको प्रतिस्पर्धी दल बन्ने देखिएको छ।
मधेशमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेशी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताए ।
‘मधेशमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन। जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो’, उनले भने, ‘मधेशी नागरिकको विश्वास एमालेमाथि छ। किनभने एमाले मधेशसहित सिङ्गो देशको विकास गर्ने पार्टी हो।’ उनले मधेशलाई एमालेमय बनाउन चाहेको बताएका छन्।































प्रतिक्रिया