राष्ट्रिय सभामा सांसदहरुः असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभामा सांसदहरुः असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद जितेन्द्रनारायण देवले सरकार फेरिने बित्तिकै वैदेशिक नीति परिवर्तन हुने कुरा नेपालमा हुनु नहुने बताए ।

उनले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गरे । सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताउँदै रुस–युक्रेन युद्ध र ताईवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्नेतर्फ सचेत रहेर काम अघि बढाउनु पर्ने उल्लेख गरे । 

सांसद देवले भने, ‘विश्वको आजको जुन परिस्थिति छ, नेपालजस्तो सानो पछौटे र गरिबी मुलुक, सानो मुलुकको लागि अत्यन्त चुनौतीपूर्ण, खतरनाक छ । विश्वको राजनीति र कुटनीति आज चुनौतीपूर्ण तरिकाले अघि बढीरहेको अवस्था मैले देखिरहेको छु । यस्तो अवस्थामा समग्रमा नेपाल सरकार विशिष्टतामा परराष्ट्र मन्त्रालयले म आशा, विश्वास गर्दछु, अहिलेको समग्ररुपमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीति जुन ढंगले अघि बढेको छ, त्यसको वृहत व्याख्या विश्लेषण भइराखेको होला भन्ने ठान्दछु ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताए । उनले सदनमा उभिएर गरेका वाचा हप्तादिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराए । उनले देशमा उत्पादन घट्ने आकलन गरिरहेका बेला सरकारले झनै मलखाद र बीउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताए । कृषिमन्त्रीले मलखाद किसानलाई समयमै उपलब्ध गराउन नसकेको बारे सदनलाई जवाफ दिनुपर्ने भट्टराईको माग छ । 

उनले भने, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो, यो पटक मलको लागि पैसा पर्याप्त छुट्याइएको छ, किसानलाई कुनै चिन्ता छैन, मल आउँदैछ भन्नुभएको थियो । देशको अर्थमन्त्री बोलेपछि पत्याउनु प¥यो कि परेन ? यो देशमा अर्थमन्त्री, प्रधानमन्त्रीलाई पत्याउन नसकिने स्थिति भयो । तर आज पनि समस्या जस्तोको त्यस्तै छ । आज मलको हाहाकार छ, असरा लाग्न थालिसक्यो । यो किसानका लागि पीडाको विषय हो । प्रधानमन्त्रीज्यूले यस बारेमा के सौच्दै हुनुहुन्छ ? किसानलाई आजको लागि चाहिने कुरा भनेको मल हो । बीउ हो । यसतर्फ सरकारको ध्यान गएको छैन । म यहाँ कृषिमन्त्रीको जवाफ चाहन्छु । यहाँ आएर कम्तिमा पनि भन्नुपर्छ नि, कहिलेसम्म किसानले मदखाद पाउँछन् भनेर ? आधिकारिक ठाउँबाट मल नपाएर कृषकले बोरामा अलिकति मलखाद, बीउ ल्याउँदा जनतालाई सताइएको छ । पुलिसले दुःखको समाधान खोज्ने किसानलाई सास्ती दिइरहेको छ, गृहमन्त्रीजी के गर्दैहुनुहुन्छ ।’

राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले लागुपदार्थ दुर्व्यसनको समस्या नेपालमा विकराल बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । आलेमगरले देशमा १ लाख २५ हजार दुर्व्यसनीमा फसेका र अनौपचारिक रुपमा झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुर्व्यसनमा रहेको र देशभर भएका कारागारमा २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरु वा दुर्व्यसनीहरु रहेको दाबी गरे । 

उनले भने, ‘लागुपदार्थ दुर्व्यसनको समस्या नेपालमा विकराल छ । यो समस्या संसारभर नै छ । आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने देशमा त झनै बढी छ । यो समस्याले करिव देशमा १ लाख २५ हजार दुर्व्यसनी छन् । यो औपचारिक आँकडा जस्तै हो तर अनौपचारिक आँकडाअनुसार झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुर्व्यसनमा छन् । विशेष गरेर युवाहरु यस समस्यामा देखिएका छन् । २० देखि २९ वर्षका युवाहरु यसमा धेरै पाइएको छ । देशका विभिन्न ठाउँमा रहेका कैदीबन्दीमध्ये २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरुको वा दुर्व्यसनीहरुको रहेको छ । यो समस्या समाधानका लागि देशले ठूलो ध्यान दिनुपर्नेछ । रिहाब सेन्टर बनाएर यसलाई नीतिको दायरामा ल्यानुपर्छ ।’

राष्ट्रिय सभा सदस्य आलेमगरले २० देखि २९ वर्षका युवाहरु लागुपदार्थ दुर्व्यसनमा धेरै रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि देशले विशेष ध्यान दिन आग्रह गरे । 

Skip This
Skip This
Logo