नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताएका छन्।
बिहीबार नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले त्यस्तो बताएका हुन्। सन् २००६ सालदेखि महासंघको विधान संशोधन नभएकाले अर्को वर्ष विधान संशोधन गर्ने तयारीमा महासंघ रहेको उनले बताए।
महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वतः महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्नेगरी विधान संशोधन गरिने समेत श्रेष्ठको भनाई थियो।
उपाध्यक्ष श्रेष्ठले लामो समय देखि युवा उद्यमीलाई महासंघमा ल्याउनुपर्छ भनेर लागि परेकाले त्यही अनुसार संसोधन हुने प्रतिवद्धता समेत जनाएका थिए। उनले भने, ‘२००६ पछि नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छैन। अस्ति विधान संशोधन हुने कुरामा पनि अब अर्को वर्ष संशोधन हुन्छ होला। महासंघको विद्यान संशोधन हुँदा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्यको रुपमा वा कार्यसमितिको रुपमा कसरी ल्याउन सकिन्छ। त्यसबारे छलफल गर्नेछौँ। अझ युवा उद्योगीहरूसँग कसरी काम गर्न सकिन्छ भन्ने कुरा पहिला देखि प्रयास गरेको छु। त्यो काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु।’
युवा उद्यमी संघ ललितपुर शाखाको बिहीवार नै नयाँ नेतृत्व चयन भएको छ। युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहने युवाहरूलाई सहयोग गर्ने माध्यम बनाउने बताए। सरकारसँग युवा उद्यमको लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने समेत उनले बताए।































प्रतिक्रिया