फोहर फाल्ने विषयमा बन्चरेडाँडा संघर्ष समिति र सरकारबीच भोलि वार्ता हुने

फोहर फाल्ने विषयमा बन्चरेडाँडा संघर्ष समिति र सरकारबीच भोलि वार्ता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ।

काठमाडौंको फोहर बन्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो। स्थानीयको सहमति बेगर बन्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ। मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो । 

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच भोलि वार्ता हुने भएको हो। भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनीबेँसी नगरपालिका प्रमुखलाई राखेर बन्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो। तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए। 

Skip This
Skip This
Logo