उपत्यकामा निषेधाज्ञा थप : केही सेवा सञ्चालनमा सहजीकरण, के-के सञ्चालन गर्न पाइन्छ ?

उपत्यकामा निषेधाज्ञा थप : केही सेवा सञ्चालनमा सहजीकरण, के-के सञ्चालन गर्न पाइन्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिए बाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो ।

आज उक्त समय सकिन लागेकाले केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधको आदेश थपिएको हो । भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशन बमोजिम आदेश जारी गरिएको हो ।

के के सञ्चालन गर्न पाइन्छ ?

तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ । अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय भने बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि उक्त व्यवसाय बिहान ९ः१५ सम्म मात्रै सञ्चालन हुँदै आएको थियो ।

तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माण सम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । पिसिआर नेगेटिभ भएका व्यक्तिबाट टेक–अवे सेवा तथा सरकारले तोकेको मापदण्ड प्रयोग गरी अनलाइन सेवासमेत सञ्चालन गर्न पाइने भएको छ । होमडिलिभरी सेवा भने मापदण्ड जारी भएपछि मात्रै सञ्चालन गर्न पाइने छ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ ।

कामदार र कर्मचारीलाई आयोजनास्थलकै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै मापदण्ड अनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न पाउनेछन् । अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको भने पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने जनाइएको छ । स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नु पर्नेछ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

आजको निर्णय अनुसार अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । उद्योगले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र छुट्टै क्वारेन्टिनको व्यवस्था गनु पर्नेछ । बैंक लगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा सञ्चालनको व्यवस्था गर्नु पर्नेछ । उक्त कार्य गर्न कठिन भए नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी सङ्ख्याको एक तिहाइ नबढ्न गरी सेवा सञ्चालन गर्न सकिनेछ । एटिएम सञ्चालन गर्दा सम्बन्धित बैंकले डिसइन्फेक्ट गर्नु पर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुने व्यक्तिका लागि सिधै विमानस्थल जाने सवारी साधनको हकमा भने सहजीकरण गरिनेछ । पिसिआर सेवा उपलब्ध नभएको क्षेत्रबाट आउनेको हकमा बस्ने स्थानको सुनिश्चितता गरी सम्बन्धित प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

अत्यावश्यक वस्तु वा सेवा अन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनु पर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

निषेध गरिएका सेवाहरु

निषेधाज्ञा जारी भएपछि तोकिएका र अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्ति र अत्यावश्यक वस्तु खरिद गर्ने बाहेक कोही पनि बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सेवाको हकमा पनि १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका नागरिक तथा दीर्घरोग भएका व्यक्ति घरबाट बाहिर निस्किन पाउनेछैन ।

तोकिएको र अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री लगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । यसरी आएका सवारीका चालक सहचालक अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नु पर्नेछ ।

उपत्यकामा तोकिएका बाहेकका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन समेत सञ्चालन गर्न पाइँदैन । कोभि ­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रका आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन भीडभाड गर्न, सभा जुलुस गर्न पाइँदैन । परम्परागत रुपमा र दैनिक रुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटी पार्लर, स्पा, स्विममिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायत जमघट हुने गतिविधिसमेत सञ्चालन गर्न पाइँदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ सञ्चालन गर्न पाउनेछैन । अत्यावश्यक कामका लागि घरबाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिने जनाइएको छ ।

Skip This
Skip This
Logo