आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपालले सातौं जित निकालेको छ। योसँगै नेपाल एक स्थान सुधार गर्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। अमेरिका भ्रमणमा पहिलो जित निकाल्ने क्रममा नेपालले ओमानलाई ७ विकेटले हरायो । योसँगै सिरिजको पहिलो खेलमा ओमानसँग भोगेको १३ रनको हारको बदला पनि नेपालले लिएको छ।

अमेरिकाको टेक्ससस्थित मौसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा आसिफ शेखले ६२ र कुशल भुर्तेलले ५६ रनको योगदान गरे। दुबैले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गर्दै नेपाललाई जितको आधार तयार पारेका थिए। देव खनालले १० रन बनाउँदा रोहितकुमार पौडेल २६ र दिपेन्द्रसिंह ऐरी ६ रनमा नटआउट रहे। ओमानका फायज बटले २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६.५ ओभरमा १६३ रनमा समेटिएको थियो । नेपाली बलरले ओमानलाई सुरुवातबाटै दबाबमा राखेका थिए। ओमानका लागि कप्तान जेस्हान मक्सुदले ५२ र सन्दिप गौडले ४७ रन बनाए। नेपालका लागि करण केसीले ५ र क्याप्टेन सन्दीप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।

पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ अंक जोडेको छ। नेपालले एक खेल कम खेलेको नामिबियालाई १ अंकले पछि पारेको हो। ओमानले भने हारबाट लिग टुको अन्त्य गरेको छ। शीर्ष स्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक छ।

जारी सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज राति अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।अमेरिकासँगको यसअघिको खेल 'टाइ' भएको थियो ।
































प्रतिक्रिया