चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च ३४ प्रतिशत मात्रै भएको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढी का अनुसार चालु आर्थिक वर्षको कूल बजेट ३१ अर्ब २३ करोड ५५ लाख ५० हजारमध्ये जेठ मसान्तसम्म ४० प्रतिशत अर्थात् १२ अर्ब ७२ करोड ९९ लाख ४१ हजार मात्र खर्च भएको छ।
चालु आर्थिक वर्षको विकास अर्थात् पुँजीगत खर्च निराशाजनक छ। पुँजीगततर्फ १८ अर्ब ७४ करोड ३४ लाख बजेट रहेकामा चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ४९ करोड २६ लाख २० हजार अर्थात् ३४ प्रतिशत मात्रै खर्च हुन सकेको छ।
प्रदेश मन्त्रालयमध्ये सबैभन्दा बढी विकास बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छ। यसअन्तर्गत पूर्वाधार निर्माणका अधिकतर योजना अधुरा छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको कूल बजेट १२ अर्ब ५४ करोड ७ लाखमध्ये पुँजीगततर्फ १२ अर्ब १२ करोड ९९ लाख बजेट छ।
मन्त्रालयको हालसम्मको कूल खर्च ४ अर्ब ७१ करोड ७८ लाख रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशी बताउँछन्। उनका अनुसार पुँजीगत खर्च ४ अर्ब ७१ करोड ७८ लाख अर्थात् ३६।७ प्रतिशत मात्र छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जिल्लाका योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय ४, सहरी विकास तथा भवन कार्यालय ३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ३ र जलस्रोत तथा सिँचाइ डिभिजन गरी १० वटा कार्यालय कार्यान्वयन निकायका रूपमा छन्।





























प्रतिक्रिया