नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।
सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्ष बाहिरको नेम प्लेट पनि फलिदिएका छन ।
सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गरे ।
अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सरह शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उक्त घटनाको विरोध गरेको छ । राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विरोध जनाएको हो ।
इन्चार्ज मदन विष्ट र अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न दोषीमाथि तुरुन्त कडा कारबाहीको समेत माग गर्दछौं साथै सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने व्यक्तिहरुमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।’
विश्वविद्यालयमा लगाएको तालालाई वार्ता र सहमतिका आधारमा तुरुन्तै खुलाएर नियमित काम कारबाही अगाडि बढाउन अनेरास्ववियुले त्रिवि प्रशासनसँग माग गरेको छ ।































प्रतिक्रिया